काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी रिहा भएका छन्। आज प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि उनि जेलमुक्त भएका हुन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चौधरी थारुहट आन्दोलनका बखत एकजनाको ट्याक्टरमा आगजनी गरेको मुद्दामा अदालतबाट दोषी ठहर भएका थिए । त्यही मुद्धामा उनलाई माघ १९ गते बाँकेबाट पक्राउ गरेर अदालतमा उपस्थित गराई कारागार चलान गरिएको थियो ।
२०६६ भदौ ३ मा कैलालीको साबिक बलिया–८ धोबेनी खोलास्थित सडकमा लु २ त २११ नम्बरको ट्र्याक्टरमा सांसद चौधरी लगायत तीनजनाले पेट्रोल छर्किएर आगजनी गरेका थिए । सोहि अभियोगमा २०७० वैशाख ९ मा जिल्ला अदालत कैलालीका न्यायाधीश विष्णु सुवेदीले सांसद चौधरीसहित, पर्शुराम चौधरी र वीरबहादुरलाई दोषी ठहर गर्दै ६/६ महिना कैद सजायसहित क्षतिबापत ८ लाख १९ हजार ४ सय २३ रुपैयाँ धनीलाई क्षतिपूर्ति भराउन समेत आदेश दिएका थिए ।
अदालतको आदेशपछि तीनै जना फरार रहेको प्रहरीको भनाई छ। सांसद चौधरी कैद सजाय भुक्तान नगरी मंसिर ४ को निर्वाचनमा कैलाली क्षेत्र २ मा नागरिक उनमुक्तिबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।