सांसदलाई अध्यक्ष साउदको प्रश्न, जनताले संसदमा सुन र भैंसीको मात्रै कुरा गर्न पठाएका हुन्?


काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रीय अध्यक्ष चन्द्र साउदले संसदमा दुई महिना देखि सुन र भैंसीको मात्रै कुरा भइरहेको प्रति दुख व्यक्त गरेका छन् । महासंघको स्थापना दिवसको अवसरमा रिपोर्टर्स क्लव नेपालमा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उनले सांसदले गरेको कामप्रति जनतामा निराशा पैदा भएको भन्दै दुख व्यक्त गरेका हुन् ।

उनले संसदमा दुई महिनादेखि भैँसी र सुनको कुरा मात्रै भइरहेको र देशको संसद भैँसी र सुनको लागि मात्रै स्थापना भएको हो ? भन्दै प्रश्न गरे। उनले भने,‘हामीले ती जनप्रतिनिधिहरूलाई भैँसी र सुनको कुरा गर्नमात्रै त्यहाँ पठाएका हौँ ? अरू समस्याहरू देशमा छैनन्। कृषकको समस्या के छ ? आम उपभोक्ताहरूको समस्या के छ ? आम विद्यार्थीको समस्या के छ ? त्यो हेर्नुपर्छ ।’

नेपालीहरूले स्वस्थ्य खाना खान पाउनुपर्ने र स्वस्थ्य प्रतिष्पर्धा गर्न पाउनुपर्ने बताउँदै देशमा भ्रष्टाचार र कालोबजारी निर्मुल हुनुपर्ने बताएका छन्। आम उपभोक्तहरूको हक अधिकार सुनिश्चित हुनुपर्छ भनेर २ वर्ष अगाडि संस्था स्थापना गरेको बताउँदै भने,‘भ्रष्टाचारीहरू जेलमा हुनुपर्छ, कालोबजारी गर्नेहरू जेलमा हुनुपर्छ। काम गर्ने श्रमिकहरूले काम गर्न पाउनुपर्छ, खाना खान पाउनुपर्छ। शिक्षा, स्वास्थ्यको ग्यारेन्टी हुनुपर्छ।’ नेपालका आम उपभोक्ताहरूको न्याय र हकअधिकारका लागि संस्था स्थापना गरेको उनले बताए।

उनले देशमा कसले के काम गर्छ त्यसको हिसाबै नहुने गरेको आरोप समेत लगाए। उनले प्रधानमन्त्री तथा मन्त्रीहरूले आफूहरूलाई समय नदिएको भन्दै कार्यक्रममार्फत नै आफ्ना मागहरू सुनाउन बाध्य भएको बताएका छन् । उनले कालोबजारी, सुन तस्करहरूलाई कारवाही भएको हेर्न चाहेको बताए।

उनले अधिकारसम्पन्न उपभोक्ता समिति र उपभोक्ता मन्त्रालय गठन हुनुपर्ने माग गरे। सर्वोच्च अदालतले उपभोक्ता अदालत गठन गर भने आदेश दिएको तर सरकारले नमानेको उनले बताए । उनले साल्ट ट्रेडिङले खुवाएको नुनमा पनि विषादी र भ्रष्टाचार भएको आरोप लगाए।
कार्यक्रममा नेपाली उपभोक्ता संरक्षण महासंघका उपाध्यक्ष अर्जुन श्रेष्ठले कालोबजारी नगरिकन कुनै कामै हुँदैन भन्ने कुरा बजारमा छ्यापछ्याप्ती रहेको र त्यसको नियन्त्रणका लागि आफूहरूलाई सबैको सहयोग चाहिने बताए। उनले संस्थाले जादुमय तरिकाले नभइ बिस्तारैबिस्तारै परिवर्तन गर्ने दाबी गरे।

अधिवक्ता विष्णु गिरीले नेपाली उपभोक्ता संरक्षण महासंघका साँच्चिकै नेपाली उपभोक्ता हकहितका र अधिकारका लागि स्थापना भएको बताए। उनले महांसघ संगठित रूपमा उदाएको संस्था भएको बताउँदै उपभोक्ता ठगीमा परेको बेला होस् या अन्याय र अत्याचारमा परेको बेला आफ्नो कुराहरू उठाउँदै आएको दाबी गरे। उनले जबसम्म उपभोक्ताहरू सचेत हुँदैनन् तबसम्म देश समृद्धिमा जान नसक्ने दाबी पनि गरे ।

त्यस्तै उनले आफूले सेवा लिँदा आफ्नो हितका लागि छ कि छैन भनेर सोच्ने गर्नुपर्ने बताउँदै संस्थामा जोडिन सबैलाई आग्रह गरे। उपभोक्ता काजीबहादुर कार्की नेताहरूले उपभोक्ताको कुरा सुन्न सक्नुपर्ने बताएका हुन्। आफू काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वार भएको बताउँदै उनले नेताहरू देश र जनताको लागि बोल्नुपर्ने बताए । उनले भने, ‘देश र जनताको निम्ती बोल्नुपर्यो। उद्योगका निम्ती बोल्नुपर्यो, कलकारखानाका लागि बोल्नु पर्यो।’ उपभोक्ताहरू अगाडि बढे पछाडिबाट संस्थाले साथ दिनका लागि उनले आग्रह गरे।

संस्थाका केन्द्रीय सचिव सोवित गिरीले ‘जबदेखि आमाको गर्भमा हुन्छौं तबदेखि हामी सबै उपभोक्ता’ भएको बताए । उनले सम्पूर्ण विशिष्ट व्यक्तिहरू त्यो ओहोदा नपुग्दासम्म सबै उपभोक्ता भएको बताए। उनले आजको कार्यक्रममा उपभोक्ताहरूको उच्च उपस्थिति रहेको र भोलि गएर यही उपस्थितिहरुमध्येबाट कसैले देशकै नेतृत्व गर्नसक्ने दाबी गरे । उनले उपभोक्ता विभाग र मन्त्रालयको खाँचो भएको औँल्याए र सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए।

पूर्व मेयर दुर्गा कुमार थापाले विभिन्न देशहरूले छोटो समयमै विकासको कायापलट गरेको बताए। जुन देशमा भ्रष्टाचार हुन्छ त्यो देशमा जतिसुकै पैसा लगानी गरेपनि त्यो देशको विकास नहुने बताए ।

त्यस्तै वातावरणविद् डा. सागर ढकालले संस्थाले नेपाली माटो सुहाउँदो कार्यक्रम गर्न खोजेको र त्यसमा सबैले सहयोग गर्नुपर्ने बताए । उनले पूर्खाहरूले दिएको ज्ञान÷विज्ञानलाई आफूहरूले उपभोक्ताहरूको प्रयोगमा लगाउनुपर्ने बताए। उनले संसारकै सबैभन्दा उत्कृष्ट उपभोक्तासँग सम्बन्धित विज्ञान नेपालमा पाइने दाबी गरे।

नेपाली उपभोक्ता संरक्षण महासंघले संस्थाको दोस्रो वार्षिकोत्सवको अवरमा उपभोक्ताका समस्याहरू, मुल्यवृद्धि नियत्रणलगायतका मागहरू राखेर पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै उपभोक्ताका समस्याहरू, मूल्य बृद्धी नियन्त्रणलगायतका मागहरू सरकारसँग राखेको छ । कार्यक्रममा नेपाली उपभोक्ता संरक्षण महासंघका अध्यक्ष चन्द्र साउद, उपाध्यक्ष लक्ष्मी शर्मा, उपाध्यक्ष अर्जुन श्रेष्ठ, उपाध्यक्ष अजय महतो, उपमहासचिव तथा प्रवक्ता लोमणी कार्की र अधिवक्ता विष्णु गिरीलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार