
काठमाडौं । भोटेकोशीको झल्को दिनेगरी बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी आएको छ । गोर्खाको चुमनुब्री गाउँपालिकाको वडा नम्बर ६ स्थित खारोङ र उङजुलुङको बीचमा सुक्खा पहिरो खसेर स्यार खोला थुनिएपछि बुढीगण्डकी नदीमा भीषण बाढी आएको हो । थुनिएको खोला फुटेर आएको बाढीले नदी किनारका बस्तीहरूमा ठुलो विनाश निम्त्याएको छ ।
बाढीका कारण वडा नम्बर ३ का घट्टेखोला, पयुँ, सल्लेरी तथा जगत बगर क्षेत्रमा व्यापक क्षति पुगेको छ । बाढीले जगत बगरको नामनिसान नै मेटिदिएको छ भने घट्टेखोलास्थित विकास प्राथमिक विद्यालयको भवन समेत बगाएको छ ।
बाढीको बहाव एक्कासि बढेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन डाँडा र जंगलतर्फ भागेका छन् । घरबाट लत्ताकपडा तथा अन्नपात केही पनि निकाल्न नभ्याएको उनीहरुले बताए ।
खोला अझै ठुलो आइरहेको र सिर्दिबासतर्फ समेत नदीले कटान सुरु गरेको बताइएको छ । कति संख्यामा घरहरू बगे भन्ने यकिन विवरण आइनसके पनि खोला किनारका धेरै संरचनाहरूमा क्षति पुगेको प्रारम्भिक अनुमान छ । विपद्ग्रस्त क्षेत्रमा उद्धार र थप क्षतिको विवरण संकलन गर्ने प्रयास भइरहेको छ ।
गत भदौं १० गते पनि रसुवाको भोटेकोशी नदिमा बाढीजाँदा ठूलो जनजनको क्षति भएको थियो ।









