वीरगञ्ज । अपहरणको नाटक गरेर आफन्तबाट पैसा माग्ने एक युवक पर्साबाट पक्राउ परेका छन् ।
प्रहरीले वीरगंज महानगरपालिका १६ ईनर्वाका ३१ वर्षीय अरमान भन्ने महम्मद तवरेज आलम (ठकुराई) लाई पक्राउ गरेको हो ।
साउन १३ गते घरबाट निस्किएका उनले भोलिपल्ट दिदी लाई फोन गरेर आफू अपहरणमा परेको र पैसा नदिए ज्यान मार्ने धम्की दिएको बताएका थिए । आफुलाई अपहरण गर्ने ब्यक्तीले ८ लाख फिरौती मागेको भन्दै उनले दिदिलाई उक्त रकम मागेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनले भैरहवा लगायतका क्षेत्रबाट फोन गरेर आफ्नी दिदिलाई ८ लाख रकम मागेका थिए ।
आलमले गरेको व्यवसाय घाटामा गएर डुब्न लागेकाले आफु अपहरणमा परेको नाटक गरेर आफन्तबाटै रकम असुल्न खोजेको अनुसंन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।











