काठमाडौं । सरकारले सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।
बैठकले नेपालको संविधानको धारा १६३ ९२० बमोजिम प्रदेश प्रमुखहरुको नियुक्तिको लागि सिफारिस गरेको थियो ।
प्रदेश प्रमुख नियुक्त हुनेमा प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्त रहेका छन् ।
नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुको सपथग्रहण भने भोलि मंगलबार हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भोलि विहान साढे ८ बजे सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुलाई सपथ ग्रहण गराउने तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।










