काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सुन्दरीजलमा निमार्ण भइरहेको मेलम्चीको पानी प्रशोधन केन्द्रको निरीक्षण गरेकी छन् । प्रशोधन केन्द्रको काम कसरी भइरहेको छ भन्ने बारे मन्त्री मगरले निरीक्षण गरेकी हुन् ।
मेलम्चीबाट आएको पानीलाई प्रशोधनका लागि सुन्दरीजलमा दुई वटा प्रशोन केन्द्र निमार्ण भइरहेका छन् । उनले मेलम्ची खानेपानी विकास समितिले प्रशोधन केन्द्रको बाँकी काम तीव्ररूपमा गरिरहेको बताएकी छन् ।
मन्त्री मगरसँगै निरीक्षणका लागि मन्त्रालयका सचिव माधव बेल्वासे, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक मिलन शाक्यलगायतको टोलीले सुन्दरीजलको प्रशोधन केन्द्र पुगेको थियो ।
टोलीले सुन्दरीजलस्थित सुरुङको समेत निरीक्षण गरेको थियो । दुई प्रशोधन केन्द्रमध्ये एउटा निर्माण सम्पन्न भइसकेको छ भने अर्को प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको मन्त्रीलाई जानकारी गराइएको छ । मन्त्री मगरले दोस्रो प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन दिइकी छन् ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेमा दुवै प्रशोधन केन्द्रमा बराबर (साढे आठ करोड लिटर) प्रशोधन हुनेछ । मेलम्चीको पानी काठमाडौंमा वितरण गर्नुअघि सो केन्द्रमा प्रशोधन गरेर मात्र पठाइनेछ ।
मेलम्चीको पानीलाई सिधै काठमाडौंमा पठाउनु भन्दा प्रशोधन गरेर पठाउदा सजिलो हुने आयोजकको भनाई छ । सोही अनुसार प्रशोधनको काम तिब्र रुपमा भइरहेको छ ।












