
काठमाडौं । आज हिमाली तथा पहाडी क्षेत्रमा होली पर्व मनाइदैछ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व हिमाली, पहाडी र तराईमा फरक फरक दिनमा मनाइदै आएको छ ।
वसन्त ऋतुको आगमनको रुपमा पनि लिइने होली पर्वलाई रंगको उत्सवका रुपमा पनि लिइन्छ । होली रंगसंग खुशी साट्ने भएकाले यसले आपसी प्रेम, मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वका रुपमा पनि लिइन्छ ।
होलीको सुरुवात
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो होली पर्वसँग जोडिएको भनाई छ ।
त्यहि घटनासंग जोडेर सत्यको विजय उल्लासका रुपमा होली पर्व मनाउने परम्पराको सुरुवात भएको मानिन्छ ।
यसैगरी, होली पर्वसंग अर्को पौराणिक कथन छ । द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ ।
होलीपर्वमा बिषेशगरी यिनै पौराणिक कथाहरु सुनाउँदै समुहमा मिलेर होली खेल खेल्ने गरिन्छ । यो ठाउँ र समुदाय अनुसार फरक फरक तरिकाले खेल्ने गरिन्छ ।
कोरोना भाइरसका कारण प्रभावित
यसबर्षको होली केहिमात्रामा प्रभावित भएको छ ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण एकै ठाउमा सामुहिकरुपमा जम्मा भएर यस पटक होली कमैमात्रामा खेलिरहेका छन् ।
सरकारले पनि भिडभाड, हुल गरेर एक्कै ठाँउमा जम्मा नहुन अनुरोध गरेपछि केहि मात्रामा होली प्रभावित भएको हो ।
काठमाडौंको बसन्तपुर, रत्नपार्क, माइतीघर लगायतका ठाउँहरुमा सामुहिक रुपमा होली खेलिदै आएको भएपनि यसबर्ष कोरोना भाइरस कारण प्रभावित भएको छ । यद्यपी, स-सानो समात गरेर टोल -टोलमा एकआपसमा रंग दल्दै गीत संगीतमा रमाउँदै होली पर्व मनाइरहेका छन् ।












