
जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत महामूर्ख घोषित भएका छन् ।
मिथिला नाट्यकला परिषद् (मिनाप) ले सोमबार आयोजना गरेको महामूर्ख सम्मेलनमा मुख्यमन्त्री राउत महामूर्ख घोषित भएका हुन ।
मुख्यमन्त्री राउतलाई तरकारीको माला, कागजबाट निर्माण गरिएको कलात्मक टोपी तथा प्रशस्तीपत्र प्रदान गरेर महामूर्ख घोषणा गरिएको थियो । मिनाप अध्यक्ष परमेश झा, पूर्व राष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लाल, जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवलगायतले उनलाई माला र प्रशस्तीपत्र प्रदान गरेर महामुर्ख घोषणा गरेका थिए ।
मिनापका अनुसार मुख्यमन्त्री राउतले प्रदेशको समाजिक रुपान्तरणका लागि ‘बेटी पढाउ बेटी बचाउ’, ‘छोरी शिक्षा विमा’ सहितको अभियान चलाएको र दलित र महिलाको लागि आरक्षणको व्यवस्था गरेका कारण उनलाई यो उपाधि दिइएको हो ।

यसैगरी महामुर्ख सम्मेलनमा प्रदेश २ संसदीय दलका प्रमुख सचेतक परमेश्वर साहलाई भभकौवा, संघीय समाजवादी पार्टीका प्रदेश २ को उपनेता रामाशीष यादवलाई हराशंख, प्रदेश सभा सदस्य मनिष सुमनलाई पट्टमूर्ख, प्रदेश सभा सदस्य रामचन्द्र मण्डललाई सिलौटशंकर,जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीताकुमारी मिश्रलाई टुनमुसरी, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशक बलराम ठाकुरलाई खेसारीलाल,महोतरी पिपरा गाउँपालिकाका प्रमुख विक्रम चौधरीलाई खापसूरत,साहित्यकार रोशन जनकपुरीलाई बलगोवना,कवियित्री पुनम झा मैथिललाई अदलबदली, शंकटमोचन देवशरण रामरति उच्च माविका प्रधानाध्यापक बलराम साहलाई बज्रकीट, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई घरघूसना, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रलाई लोढाशंकर तथा युवा अभियन्ता सुशील कर्णलाई वंश कुरहरिको उपाधि प्रदान गरिएको थियो ।
उपाधिप्राप्त गर्नेहरुलाई मुला,कांक्रा,काउली,सिमी,बोडीलगायतका तरकारीहरुको कलात्मक माला, प्रशस्तीपत्र तथा मिथिलाका विभूतिहरुको कलात्मक तस्बिर प्रदान गरिएको थियो ।
२०६१ सालदेखि मिनापले होली पर्वको अवसरमा ब्यङ्ग्यात्मक र मनोरंजनको शैलीमा “महामुर्ख” भनेर यो उपाधि प्रदान गर्दै आएको छ ।










