
धनुषा । विशाक्त मदिरा सेवनका कारण मृत्यु भएकाको परिवारले जनही ३ लाख रुपैयाँ राहत पाउने भएका छन् ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार पीडित परिवारलाई भेट्दै सहयोग स्वरुप प्रतिपरिवार ३ लाख रुपैयाँ राहात रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।
मुख्यमन्त्री राउत बिहानै धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको रमदैयामा मृतकका परिवारलाई भेट्न पुगेका थिए । रमदैया गाउँमा विशाक्त मदिरा सेवनबाट एक दर्जन बढीको मृत्यु भइसकेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मुसहर बस्तीमा पनि मदिरा सेवनका कारण ३ जनाको मृत्यु भएको छ ।
खुला विषाक्त मदिरा बिक्री वितरण तथा उत्पादन गर्ने जो कोहीलाई पनि कानूनको दायरामा ल्याउने भन्दै मुख्यमन्त्री राउतले घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको बताए । उनले प्रदेश २ लाई खुला मदिरा मुक्त घोषणा गर्ने तयारीमा रहेको समेत बताए ।










