कोरोना रोकथामका लागि चौरजहारी अस्पतालका कर्मचारीद्धारा साढे २ लाख रकम सहयोग


रुकुम । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चौरजहारी अस्पतालका कर्मचारीहरुले साढे २ लाख रकम आर्थिक सहयोग गरेका छन । मानव विकास तथा सामुदायिक सेवाद्धारा संचालित रुकुम पश्चिममा रहेको उक्त अस्पतालका स्वास्थ्यकर्मी, चिकित्सक र प्रशासन फाँटमा कार्यरत कर्मचारीहरुले २ लाख ५६ हजार ९ सय रुपैया कोरोना रोकथाम कार्यका लागि नगरपालिकालाई सहयोग गरेका हुन ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भन्ने उदेश्यले आफुले पाउने पारिश्रमिकबाट कर्मचारीहरुले स्वइच्छाले उक्त रकम सहयोग गरेको चौरजहारी अस्पतालका प्रशासक डिल वहादुर गिरीले जानकारी दिए । उक्त रकम चौरजहारी नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापक कोषमा जम्मा गरीएको समेत गिरीले बताए ।

संकटको समयमा कोरोना रोकथामका लागि अस्पतालद्धारा महत्वपुर्ण सहयोग भएको भन्दै नगरपालिकाले अस्पताललाई एक विज्ञप्तीमार्फत धन्यवाद समेत दिएको छ ।

यसैगरी, मानव विकास तथा सामुदायिक सेवा अन्तरगत आशा वालविकास सेवा (सिविआर) चौरजहारीले पनि नगरपालिका भित्रका ३५ जना अपांगता भएका व्यक्तिहरुलाई राहात वितरण गर्ने योजना बनाएको छ ।

नगरपालिका र वडा कार्यालयसंग समन्वय गरी अपांगता भएका व्यक्तिहरुका लागि खाद्यान्न, दाल, तेल, नुन, चिनि, चियापत्ती वितरण गर्ने लक्ष्य राखिएको आशा वाल विकास सेवाकी कार्यक्रम संयोजक तुलसा शर्माले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार