
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा ओली अन्य काममा व्यस्त रहेको भन्दै बैठकमा अनुपस्थित रहेका हुन् ।
उनले बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएका छन् । दोस्रो दिन आजको बैठकमा नेताहरुले बैठकका एजेण्डामा केन्द्रित रहेर धारणा राख्ने क्रम शुरु भएको छ ।
सरकार र पार्टी कामको समीक्षासहित अधिकांश एजेण्डा प्रधानमन्त्री ओलीसँग सम्बन्धित छन् । तर ओली भने सदस्यहरुका धारणा सुन्ने बैठकमा अनुपस्थित भएका हुन् । तर, सदस्यहरुले राखेका धारणा भने उनले सुन्ने बताइएको छ ।
बैठकमा चर्का चर्की हुने थाहा पाएपछि ओली बैठकमै सहभागि नहुने यो पुरानै रोग हो । यसअघि पुसमा बसेको धुम्बाराहीको स्थायी कमिटी बैठकमा पनि ओली अनुपस्थित भएका थिए ।














