
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाका ९७ प्रतिसत सकिएको जानकारी दिएकी छन् । आइतबार दिउँसो मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री मगरले आयोजनाको काम अन्तिम चरणमा पुगेकाले मेलम्ची खानेपानी उद्घाटनको मिति नजिकै रहेको समेत बताएकी छन् ।
“आयोजनाको काम ९७ प्रतिसत सकिएको छ, अब काठमाडौबासीको स्वच्छ पानी पिउने बर्षैको सपना साकार हुदैंछ । मेलम्ची खानेपानी उद्घाटनको मिति नजिकै आइसकेको छ”, मन्त्री मगरले भनिन् ।
आजै बिहान मेलम्चीको मुख्य सुरुङ्गमा पानी पठाइएर परिक्षण समेत गरिएको थियो । सुरुमा प्राविधिक मापदण्ड अनुसार प्रती सेकेन्ड २ सय ६० लिटरका दरले सुरुङ्गमा पानी पठाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

काठमाडौंतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट बिहान पानी परीक्षण गरिएको थियो । हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।









