अन्तत: नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता, नेकपामा हलचल


काठमाडौँ । निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता भएको छ । बुधबार आयोगमा आधिकारीक रुपमा उक्त दल दर्ता भएको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए ।

सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा (एमाले) मा मनिषकुमार उपाध्याय महासचिव रहेका छन् । प्रवक्ता श्रेष्ठकाअनुसार दर्ता भएको नेकपा (एमाले) को चुनाव चिह्न उदाउँदो सूर्य रहेको छ ।

पार्टीको विधानमा पार्टीको पूरा नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत- मार्क्सवादी, लेनिनवादी) रहेको र छोटकरीमा नेकपा (एमाले) रहेको प्रवक्ता श्रेष्ठले बताए । योसंगै आयोगमा दल दर्ताको संख्या १ सय ३२ पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै आग्रहमा उनी निकटका ब्यक्तिहरुले पूर्व एमाले पार्टी ब्युताउँन थालेको भन्दै सत्तारुढ नेकपाभित्र केहि समयअघि विवाद उठेको थियो । पार्टी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल लगायतका नेताहरुले एमाले ब्युताउँने बिषयमा कुरो उठाएका थिए ।

तर, अन्तत नेकपा एमाले ब्युतिएपछि नेकपामा फेरी विवाद उत्पन्न हुने देखिन्छ । यसअघि पनि अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीकै इशारामा एमाले पार्टी दर्ता हुन लागेको दावी गरेका थिए । तर, यसबारे आफुलाई जानकारी नभएको ओलीले बताएका थिए ।
जुन बिषयले नेकपाको जारी स्थायी समिति र सचिवालय बैठकहरु नै प्रभावित भएका थिए । त्यसपछि केहि दिनसम्म ओली र प्रचण्डबीचको संवाद नै राकिएको थियो ।

पछिल्लो समय आएर पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्वय ओली र प्रचण्डले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यिय कार्यदल गठन गरेपछि विवाद केहि साम्य हुने देखिएको छ ।

कार्यदलले दुबै अध्यक्षको कार्यभार बाँडफाँड, पार्टीभित्रको शक्तीसन्तुलन, महाधिवेशन, मन्त्रीमण्डल पुर्नगठन लगायतका बिषयहरु समेटेर प्रतिवेदन ल्याउने आँकलन गरिएको छ । आज वा भोलीसम्म कार्यदलले प्रतिवेदन ल्याउने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार