त्रिभुवन विश्वविद्यालय गैरजिम्मेवार भयो : नेविसंघ


काठमाडौं । कोरोना महामारीका बेला त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भविष्य सुनिश्चि गर्न नसकेको भन्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ । विश्वका अरु देशमा विश्वविद्यालयले विभिन्न नयाँ प्रविधिको माध्यमबाट काम गरिरहेकाले नेपालमा त्यो काम गर्न नसकेको भन्दै आपत्ति जनाइएको हो ।

नेविसंघले शनिबार एक विज्ञप्ति जारी गर्दे त्रिभुवन विश्वविद्यालय गैरजिम्मेवार बनेको आरोप लगाएको छ । त्रिविका पदाधिकारी विद्यार्थीप्रतिको जिम्मेवारी र दायित्व निर्वाह गर्न अक्षम रहेको भन्दै संघका महामन्त्री बलदेव तिमिल्सिनाले खेद प्रकट गरेका छन् ।

नेविसंघको विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको कोरोना संकटको अबस्थालाई अवसरको रुपमा सदुपयोग गर्दै खोज, अध्ययन र अनुसन्धानमार्फत विश्वका अन्य बिश्वबिद्यालय सरह नयाँ–नयाँ तथ्यसँगै यसको निराकरणका उपायहरु पत्ता लागाउनु पर्नेमा त्यसो गर्न सकेको छैन् । यो समयमा उल्टै विद्यार्थीहरुको भविष्य अन्धकार बनाउने काममा लागेको, तयारी गर्दैछौँ भन्ने रेडीमेड जवाफ दिएर भ्रष्टचारमा चुर्लुम्म डुबेको छ ।’

यसका साथै त्रिविले पटक पटक परीक्षाको समय तोक्ने, स्थगित गर्ने अनलाइन कक्षाको नाटक मञ्चन गर्ने, २ सय ५५ भन्दा बढी विद्यार्थी कक्षामा सामावेश गर्न नसक्ने, सेमेष्टर प्रणाली भन्ने तर आन्तरिक मूल्यांकनलाई वैधानिकता दिन नसक्ने भन्दै विज्ञप्तिमा आपत्ति प्रकट गरेका छन् ।
महामन्त्री तिमिल्सिनाले त्रिविलाई जिम्मेवार हुन आग्रह समेत गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार