
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनका बेला आफूविरुद्ध कतिपय कर्मचारीहरुले नराम्रो ब्यवहार देखाएको बताएका छन् ।
बिहीबार निजामती कर्मचारी विधेयकमाथिको छलफलमा राज्य व्यवस्था समिति बैठकमा बोल्दै मन्त्री पण्डितले समायोजनको बेला कतिपय कर्मचारीले आफूलाई थुक्ने धम्की र गालीगलौच गरेको सम्झिए ।
मन्त्री पण्डितले सम्झिदै भने, “दुई जना उपसचिवज्यूहरु आउनुभएको थियो हानौला झैँ गरे, तपाईंले खटाएको ठाउँमा खट्नुपर्छ ? के लोकतन्त्र र गणतन्त्र यसैको लागि आएको हो ? उहाँहरुले मलाई अन्त खटाए तपाईंलाई सबैभन्दा खराब मन्त्री भन्छु र थुक्छु भन्नुभयो ।”
कर्मचारी समायोजनकै बेला कतिपय कर्मचारीले गालीगलौच मै उत्रिएको भन्दै मन्त्री पण्डितले कर्मचारीमा अनुशासनहीनता बढेको बताए ।
“एक वर्षमा पटक पटक गरी एक जना सहसचिव २१० दिन विदेश ट्रेनिङमा गएको रेकर्ड फेला पारेको छु, उसले देशमा कहिले काम ग¥यो होला ?’ मन्त्री पण्डितले भने, त्यस कारण अनुशासन टाइट बनाउनुछ, एकातिर प्रोत्साहन दिनु पनि छ । अर्कोतिर काम लिनु पनि छ ।”
कर्मचारीमा आफ्नो व्यक्तिगत कामसमेत कार्यालय समयमा गर्ने प्रवृत्ति रहेको भन्दै पनि मन्त्री पण्डितले बताए । सबै कर्मचारीहरु एकै स्तरका नहुने भन्दै उनले कर्मचारीको योग्यता, क्षमता र विकासका निम्ति प्रोत्साहित गर्दै जानुपर्ने बताए ।













