संसद विघटनविरुद्ध सभामुखको अपिलः ‘संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि फेरी सबै एकजुट होँउ’


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

शनिवार एक विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले अन्य विकल्प हुँदा हुँदै कोरोना महामारीमा जनतालाई समेत आर्थिक भार पर्नेगरी आवधिक चुनावको घोषणा गर्नु असंवैधानिक कदम भएको बताएका छन् ।

संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै सार्वभौम प्रतिनिधि सभा विघटनको निष्कर्षमा पुग्नु कदापि स्वाभाविक र संवैधानिक कदम मान्न सकिने अवस्था रहँदैन, जारी विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ महामारीको भयावह परिस्थिति भोगिरहेका नागरिकका लागि यसको रोकथाम, नियन्त्रण र उपचार सर्वाधिक प्राथमिकताको विषय भएको उल्लेख गर्दै सभामुख सापकाटाले नयाँ राजनीतिक संकटले मुलुकको प्राथमिकता बदलिने र महामारीबाट नागरिकको जीवन थप जोखिममा पर्ने खतरा बढाउने बताए।

“कोरोना महामारीसंग जुधिरहेको संकष्टमा चुनाव घोषणाले मुलुक र जनतालाई थप आर्थिक भार पर्ने अवस्था सृजना हुने उनको भनाई ।
कोभिड–१९ महामारीको भयावह परिस्थिति भोगिरहेका नागरिकका लागि यसको रोकथाम, नियन्त्रण र उपचार सर्वाधिक प्राथमिकताको विषय हो । तर, नयाँ राजनीतिक संकटले मुलुकको प्राथमिकता बदलिने र महामारीबाट नागरिकको जीवन थप जोखिममा पर्ने खतरा बढाउने छ । साथै मुलुक र जनतालाई थप आर्थिक भार पर्ने अवस्था पनि सृजना हुनेछ”, विज्ञप्तिमा उल्लेख छ।

सभामुख सापकोटाले प्रधानमन्त्री र राष्ट्रपतिद्धारा चालिएको असंवैधानिक कदमले लोकतन्त्र नै खतरामा परेकाले राष्ट्रिय हित, संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि फेरी एकपल्ट सबै एकजुट हुन अपिल गरेका छन् ।

“फेरि एकपल्ट, राष्ट्रिय हित, संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरु, माननीय सांसदहरु, नागरिक समाज, संविधानविद्, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्षलाई एकजुट हुन हार्दिक अपिल गर्दछु”, जारी विज्ञप्तिमा उल्लेख छ।

सभामुखद्धारा जारी विज्ञप्ति

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार