
काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुल्ने भएको छ ।
इपिएस कोरिया शाखाले आज जारी गरेको सूचना अनुसार आगामी चैत १४ देखि २१ गतेसम्म इपिएसका लागि आवदेन फारम भर्न सकिनेछ ।
परीक्षामा सहभागीको भाषा परीक्षाका साथै सीप परीक्षण पनि हुनेछ । आवेदन फारम शुल्क अमेरिकी डलर २४ लाग्नेछ ।
दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार ६५४ नेपाली रोजगारीका लागि लैजाने भएपछि आवेदन खुला गरिएको हो । तीमध्ये ६ हजार ९१३ उत्पादनमूलक र दुई हजार ७४१ कृषि तथा पशुपालनतर्फ लैजाने कोरियाको तयारी छ । कोरियामा श्रमिकको मागका आधारमा नेपाली श्रमिकको छनोट थपघट हुने इपिएस कोरिया शाखाले जनाएको छ ।
आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रतर्फको भाषा परीक्षा र सीप परीक्षण आगामी वैशाख २६ देखि जेठ १३ सम्म पहिलो चरण र आगामी जेठ २४ देखि असार १६ गतेसम्म दोस्रो चरणमा हुनेछ । यस्तै उत्पादनमूलक क्षेत्रतर्फको परीक्षा आगामी असार २० देखि भदौ १० सम्म पहिलो चरण र आगामी भदौ १६ देखि असोज २१ गतेसम्म दोस्रो चरणमा हुनेछ । परीक्षा एक दिनमा चार सिफ्टमा सञ्चालन हुने शाखाले जनाएको छ ।
कृषि तथा पशुपालन क्षेत्रतर्फ पहिलो चरणमा भएको भाषा परीक्षाको नतिजा आगामी जेठ २४ गते र दोस्रो चरणमा भएको परीक्षाको नतिजा आगामी असार २३ गते प्रकाशन हुनेछ । यस्तै उत्पादनमूलक क्षेत्रतर्फ पहिलो चरणमा सम्पन्न भाषा परीक्षाको नतिजा आगामी भदौ १६ गते र असोज २७ गते प्रकाशन हुनेछ ।
नेपालीका लागि दक्षिण कोरिया रोजगारीको आक्रषण गन्तव्य बन्दै आएको छ । लाखौं नेपाली युवा युवती अहिले रोजगारीका लागि कोरियामा छन् ।










