
सर्लाही। पूर्वसांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । ‘जनतासँग माओवादी, तराई मधेश जागरण अभियान’ अन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उनी माओवादीमा प्रवेश गरेका हुन् ।
जसपाका नेपालका नेता समेत रहेका साहलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् । साह २०७४ को आम निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
पार्टी प्रवेशपछि नेता साहले २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रमुख दल माओवादी भएकाले आफूले यही दल रोजेको उनले बताएका छन् । उनीसँगै ठूलो संख्यामा जसपा नेपालसहित विभिन्न दलका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सत्ताबाट बाहिर आएपछि प्रचण्ड अहिले जनताको घरदैलोमा गएर जनताका दुख, समस्या, अपठ्यारा, गुनासाहरु सुनिरहेका छन् । त्यसक्रममा विभिन्न जिल्लामा अहिले माओवादी प्रवेश गर्नेहरुको लर्को लागेको देखिन्छ । विशेषगरी पछिल्लो पटक सरकारमा हुँदा प्रचण्डले ठुला ठुला भ्रष्टाचारका फाइल खोलेर पूर्व गृहमन्त्री, पूर्व उपप्रधामन्त्री समेतलाई जेल हालेपछि जनताको माओवादीप्रति आर्कषण बढेको देखिन्छ । माओवादीलाई जनतामा फर्काउने भन्दै प्रचण्डले पहिलो चरणमा तराई मधेस जागरण अभियान गरिरहेका छन् ।











