
काठमाडौं । ठगी आरोपमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई अदालतमा उपस्थित गराइएको छ । उनलाई काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि ४ दिन प्रहरी हिरासतमा राख्न समय दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेका अर्याललाई अनुसन्धानका लागि समय माग गर्दै शुक्रबार जिल्ला अदालत काठमाडौँमा पेस गरिएको थियो ।
अर्यालमाथि मलेसिया सरकार र नेपाल सरकारबिच भएको सम्झौता विपरीत गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप छ ।
सीआईबीका अनुसार अर्यालले अमेरिकी डलर र बेलायती पाउन्ड गरी कुल एक अर्ब ६९ करोडभन्दा बढी रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रही आर्थिक लाभ लिएको प्रहरीको आरोप छ ।










