
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रचण्डले माओवादीहरु एक हुन नदिन ठुलो षडयन्त्र भइरहेको बताएका छन् ।
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सबै माओवादी धारहरुलाई एकता गरेर अघि बढ्ने प्रयासमा रहेको तर प्रतिकृयावादीहरु एक हुन नदिन ज्यान फालेर लागेको बताएका हुन् ।
उनले जनयुद्धका शहीदहरुको बलिदान र पीडाहरुलाई साँची राखेर माओवादीका सबै धारहरुलाई एकतामा ल्याउने प्रयास जारी राखेको बताए।
सहिदका सपना र जनताका चाहनालाई मध्यनजर गर्दै सबै माओवादी धाराहरु एक भएर सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउने प्रयासमा आफु लागिरहेको प्रचण्डको भनाई थियो ।
माओवादीहरु एक भएर सबै वामपन्थीहरुको एकता हुने त्रासमा रहेका प्रतिक्रियावादीहरुले एकता हुन नदिन अनेक षड्यन्त्रहरु गरिरहेको बताए। उनले माओवादीहरु एकताबद्ध हुन नसके, प्राप्त उप्लव्धी र शहिदका सपनाहरु प्रतिक्रियावादीहरुले उल्ट्याइदिने तर्फ सचेत समेत गराएका छन् ।
पछिल्लो समय विभिन्न पार्टीमा गएका र छुट्टै पार्टी गठन गरेका माओवादी नेता, कार्यकर्ताहरु प्रचण्डको नेतृत्वमा रहेको माओवादी केन्द्रमा सामेल भइरहेका छन् । माओवादी केन्द्र र विप्लवको पार्टीबीच एकता हुने चर्चा भएपनि त्यसले पुर्णता पाउन सकेको छैन् । प्रचण्डले नै एकता नचाहेको विप्लवको आरोप छ ।
प्रचण्डले भने माधव नेपालको पार्टीसहित विप्लवसंग एकता गर्नका लागि छलफलमै रहेको बताउँदै आएका छन् ।













