
काठमाडौं । सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल बाँकेद्धारा रसुवा र नुवाकोटका बाढी प्रभावितलाई न्यानो कपडा वितरण गरिएको छ ।
आपतकालिन अवस्थामा मानवीय सेवामा समर्पित हुनु साँचो मानविय सेवा हो भन्ने उदेश्य र भावनाका साथ उक्त संस्थाले नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर २, वडा नम्बर ५ को शान्ती बजार र रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर १ मा बाढी प्रभावित एक सय पचास परिवारलाई लगाउने र ओछ्याउने न्यानो कपडा वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक केशव नेपालीले जानकारी दिए ।
उनकाअनुसार बाढी प्रभावित डेढ सय परिवारलाई फाइबर सिरक, सिल्पिङ ब्याग, जकेट, ऊनको सल, विधार्थी ट्रयाकसुट र स्कुल ब्याग वितरण गरिएको छ ।

जाडो सुरु हुनै लाग्दा न्यानो लुगा कपडाहरु राहातमा पाउँदा बाढी प्रभावितहरुले खुशी ब्यक्त गरेका छन् । अरु बेला राहातमा खाद्यान्न सामाग्री पाइए पनि न्यानो लुगा कपडाहरु पहिलो पटक पाएको उनिहरुको भनाई थियो ।

राहात वितरण कार्यक्रममा संस्थाका महासचिव प्रकाश नेपाली, परियोजना संयोजक सुरज खड्काको पनि उपस्थिती थियो भने राहात वितरण समन्वयमा किस्पाङ २ स्थानिय समाजसेवी पावल फुयाल, राजेश नेपाली लगायतले सहयोग गरेका थिए ।











