
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महाधिवेशनको तयारी तिब्र पारेको छ । महाधिवेशलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्नको लागि तयारी समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन संयोजक डा. शशांक कोइरालालाई दिए सँगै तयारी तिब्र पारेको हो ।
बुधबार देउवा समूहको सम्पर्क कार्यालय चूनदेवीमा बसेको शीर्ष नेता, पदाधिकारी, भातृ तथा शुभेच्छुक लगाएतको बैठकले १५ औँ महाधिवेशनको तयारीका लागि समिति गठनको जिम्मा संयोजक कोइरालालाई दिने निर्णय गररेको छ ।
महाधिवेशन सम्पन्न गर्न व्यवस्थापन समिति, स्वयंसेवक समिति र मञ्च व्यवस्थापन समितिलगायत करिब १५–२० वटा समिति गठन गर्नुपर्ने भएकाले समिति गठन गर्ने सम्पूर्ण अधिकार महाधिवेशन संयोजक कोइरालालाई दिइएको बताइएको छ ।
संयोजक कोइरालाले बिहीबारसम्म निर्णय गरेपछि संयोजकहरू तोकिने र त्यसपछि उनीहरूले आफ्नो कमिटीमा सदस्य राखेर महाधिवेशनका काम अघि बढाउने तयारी भइरहेको छ ।
काँग्रेसमा को आधिकारिक भन्ने विषयमा अझै विवाद रहेको छ । यसअघि गगन कुमार थापाले नेतृत्व गरेको काँग्रेसले पार्टी महाधिवेशन सम्पन्न गरिसकेको छ । निर्वाचन आयोगले पनि उक्त समितिलाई आधिकारिकता समेत प्रधान गरिसकेको छ । सभापति थापाले आफुहरुले आधिकारिकता पाएको र देउवा समूहलाई कारवाही गर्ने भनेपछि देउवा समूहले आफूहरू नै आधिकारिक कांग्रेस रहेको भन्दै कारवाही गर्ने अधिकार कसैलाई नरहेको धारणा राखेका छन् ।
देउवा समूहले मंसिर २१, २२ र २३ गते १५ औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ ।










