
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) लाई आईसीसीले आधिकारिक टी–२० मान्यता दिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै एनपीएलले आईसीसीबाट आधिकारीक रुपमा मान्यता पाएको जानकारी दिएको हो ।
एनपीएलको तेस्रो संस्करण सुरु हुनै लाग्दा आईसीसीले पहिलो पटक मान्यता दिएको हो । यसअघिका दुई संस्करणमा आईसीसीले एनपीएललाई मान्यता दिएको थिएन ।
मान्यता पाएसँगै अब एनपीएलमा भाग सलने फ्रेन्चाइज टिमहरुले निर्वाध रूपमा विदेशी खेलाडीहरू अनुबन्ध गर्न सक्नेछन् ।
यसअघि आईसीसीले एनपीएलको एक संस्करणमा टेस्ट राष्ट्रका बढीमा ४ खेलाडी मात्र अनुबन्ध गर्न सकिने अनुमति मात्र दिएको थियो ।
यस पटकको एनपीएलमा विदेशी खेलाडीहरु बढि देखिने सम्भावना बढेको छ ।
एनपीएलको तेस्रो संस्करण यहि अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म काठमाडौ.को कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा सञ्चालन हुँदैछ । प्रतियोगीतामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
एनपीएलले नेपाली क्रिकेट र खेलाडीको क्षमता विकासमा ठुलो योगदान गरेको पाइन्छ । आफ्नै घरेलु मैदानका विदेशका अनुभवी खेलाडीसंग क्रिकेट खेल्न पाउँदा नेपाली खेलाडीहरुले अन्तराष्ट्रिय अनुभव समेत हासिल गर्ने मौका पाइरहेका छन् ।
एनपीएलले नेपालीहरुको क्रिकेट खेलप्रति आर्कषण पनि बढाइरहेको छ । तर राज्यले भने अझै नेपाली क्रिकेटको विकासका लागि प्रयाप्त खर्च गर्न सकेको छैन् ।










