पाँचथरपछि दार्चुलामा त्यस्तै दुखद घटना

दार्चुला । पाँचथरमा दुई परिवारका ९ जनाको हत्याले देश स्तब्ध भइरेका बेला दार्चुलामा पनि दुखद घटना घटेको छ । गएराति दार्चुलाको काँटैस्थित पसलमा सुतिरहेका बेला एक परिवारमाथि अज्ञात समुहले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महाकाली नगरपालिका -३ काँटैकी ७० वर्षीया द्रोपती महरा रहेकी छन् । पसलमा राति सुतिररहेका बेला अज्ञात समूहले कुटपिट गर्दा द्रोपतीको मृत्यु भएको छ भने, उनका ७५ वर्षीया श्रीमान् विरभान सिह महरा र १२ वर्षीया नाति लोकेश महरा घाइते भएका छन् ।

घाइते विरभान र उनका नातिको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । नातिको अवस्था समान्य रहेपनि विरभान भने बोल्न नसक्ने अवस्थामा रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

अज्ञात व्यक्तिहरुको समुह बंगाबगड -दल्लेख सडक छेउमा पसल गरेर बस्दै आएका महरा दम्पतीको पसल लुट्न आएका हुनसक्ने बताइको छ । लुटेराको समुहले मृतक द्रोपतीले लगाएको सुन समेत लुटेर लगेको प्रहरीले जनाएको छ ।

घटना के कति कारणले भएको हो भन्ने कुरा खुल्न नसकेकाले प्रहरीले धनगढी बाट तालिम प्राप्त कुकुर लगेर अनुसन्धान गरिरहेको छ । प्रहरीको अनुसन्धानपछि मात्रै घटनाको कारण थाहा हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार