निवर्तमान सभामुख महरा पुर्पक्षका लागि जेल चलान(भिडियोसहित)

 

काठमाडौं । संसदीय सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

जिल्ला अदालत काठमाडौंमा दुई दिनसम्म चलेको थुनछेक बहशपछि  न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सोमबार उनलाई थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि प्रहरीले महरालाई  डिल्लीबजारस्थित कारागार लगेको छ ।

घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार होइन भन्न नसकिने भएकाले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

यससँगै यो मुद्धाको टुंगो नलागेसम्म महरा जेलमा रहेन छन् ।

संंसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि प्रहरीले अनुसन्धान गरेपछि प्राप्त प्रमाणका आधारमा महराविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले बलात्कार उद्योगमा कारबाही गर्न अभियोगपत्र दर्ता गरेको थियो ।

मुद्धा दर्तापछि महरालाई बयानका लागि शुक्रबार अदालतमा उभ्याइएको थियो । त्यसपछि आइतबार र सोमबार दुईदिनसम्म वादि र प्रतिवादिका तर्फबाट वकिलहरुले थुनछेक बहश गरेपछि सोमबार अपराहन्न अदालतबाट महरालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश आएको हो ।

मुलुकी अपराध संहिता २०७४ अनुसार बलात्कार उद्योगको आरोपमा साढे ३ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सार्वजनिक ओहोदाको दुरुपयोग गरी अपराध गरेको भन्दै सरकारी वकिल कार्यालयले महरालाई हुने सजायमा डेढ गुणा थप गर्न पनि माग दावी गरेको थियो ।

भिडियो हेर्नुहोस र सेयर गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार