
बुटवल । कपिलवस्तुमा एकैदिन सोमबार १६ जना कोरोना संक्रमित भेटिएका छन् । ति सबै संक्रमित भारतका विभिन्न शहरबाट आएका खुलेको छ ।
लकडाउनकै बेला भारतबाट नाका छल्दै लुकिछिपि आएकाहरुमध्ये कोही सिधै क्वारेन्टाइन गएका थिए भने कोही घरमा पुगेका थिए । भारतबाट आएर घरमा दुई दिन बसेर अनि क्वारेन्टाइन गएका तीन जना फेला परेका छन् ।
उनीहरु जिल्लाको यशोधरा गाउँपालिका ८ का स्थानीय बासी रहेका छन् । उनीहरु तीनै जना भारतको मुम्बईबाट रेल र ट्रकमा यात्रा गर्दै लकडाउनकै बीचमा एकहप्ता अघि घर आएका थिए ।
उनीहरु भारतबाट आएर क्वारेन्टाइन नगई घरमा बसेको छिमेकीले थाहा पाएपछि उनीहरूकै पहलमा दुईदिनपछि क्वारेन्टाइन लगिएका थिए ।
कपिलवस्तुमा २१ जनामा कोरोना संक्रमण देखिएको छ । यशोधरा गाउँपालिकाको वडा ५ का ८ जना र ८ का ४ जना गरी १२ जना, बुद्धभूमि नगरपालिका ७ का ३ जना र १० का एक जना तथा मायादेवी र शुद्धोधन गाउँपालिकामा ५ मा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएका सबै जना लकडाउन छल्दै भारतबाट चोरबाटो हुँदै नेपाल आएका थिए ।
लकडाउनकै बेला भारबाट लुकेर आएका अझै ३८ जनाको रिपोर्ट भने आउन बाँकी रहेको जिल्ला जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्लाका १० पालिकाले सन्चालन गरेका क्वारेन्टाइनमा अझै एक हजार ३ सय ७९ जना बसेका छन् । भने कविलवस्तुका विभिन्न नाकामा भारतबाट आएका एक हजार बढी व्यक्तिहरु अलपत्र छन् ।








