निषेधाज्ञा तोड्दै प्रहरी चौकीमा लगाइएको ताला खुल्यो, घटना के थियो ?

प्रहरीलाई भित्र थुनेर चौकीमा तालाबन्दी

कपिलवस्तु । अभियुक्तलाई कारवाहीको माग गर्दै कपिलवस्तुको गजेहडा चौकीमा लगाइएको ताला प्रहरीले नै खोलेको छ । प्रहरी चौकीमा तालाबन्दी भएपछि पिपरा इलाका प्रहरीबाट सईको नेतृत्वमा गएको टोलीले उक्त ताला खोलेको हो ।

प्रहरी टोलीले आफ्ना मागका बिषयमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय वा अदालतमा जान पीडित परिवारलाई सुझाव दिएको स्थानिय योगेश पाठकले बताए ।

आन्दोलित स्थानिय महिलाले बिहीबार बिहान वाणगङ्गा नगरपालिका–४, मा रहेको गजेहडा चौकी घेराउ गर्दै ताला लगाएका थिए ।
अभियुक्तलाई कारवाहीको माग गर्दै पीडित परिवार र स्थानिय महिलाहरुले प्रहरीलाई भित्रै थुनेर चौकीमा तालाबन्दी गरेका थिए ।

पछि प्रहरी आफै बाहिर आएका बताइएको छ । कपिलवस्तुमा स्थानिय प्रशासनले गरेको निषेधाज्ञा तोड्दै महिला अधिकारकर्मीहरुले प्रदर्शन गरेका थिए ।

के हो घटना ?


वाणगङ्गा, गजेहडाकी करिब आठ र दश बर्षकी ३ जना बालिकाहरुलाई दुई युवकले लामो समयदेखि यौन हिंसा गर्दै आएका थिए । पीडित बालिकाका परिवारले करिब २२ दिनअघि प्रहरीमा उजुरी दिए ।

उजुरीका आधारमा प्रहरीले स्थानीयवासी १७ वर्ष ६ महिनाका किशोर र अर्का ४२ वर्षीय पुरुषलाई हिरासतमा राख्यो । पीडित बालिकाहरुले आफूहरुलाई अभियुक्तले यौन दुव्र्यहार गरेको प्रहरीसमक्ष बयान दिएका थिए ।

तर, प्रहरीले पीडकसंँग रकम खाएर मुद्दा कमजोर बनाएको पीडित परिवार र स्थानिय महिलाको आरोप छ । जिल्ला अदालत कपिलवस्तुले बुधबार अन्तिम फैसला नहुन्जेल किशोरलाई अभिभावकको जिम्मा लगाइ छाड्ने आदेश दिएपछि महिलाहरु आन्दोलित भएका हुन ।

महिला अधिकारकर्मी चेतना अधिकारीले प्रहरीले अभियुक्तसंँग मिलेमतो गरेर मुद्दा कमजोर बनाएको आरोप लगाइन् । तर, इलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुष जोशीले पीडितको जाहेरीअनुसार मुद्दा चलाइएको प्रतिक्रिया दिएका छन् ।

अधिकारकर्मी अधिकारीका अनुसार एक अभियुक्त छुटे पनि अर्कालाई अझै अदालतमा पेश गरिएको छैन । आरोपित किशोर छुटेर गाउँमै आएपछि पीडित बालिका थप असुरक्षित भएको भन्दै महिलाहरुले न्यायको माग गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार