म्याग्दी बाढी पहिरो अपडेटः ३ शव फेला, ३१ बेपत्ता, ३५ घर पुरिए

म्याग्दी। लगातारको वर्षापछि म्याग्दीमा आएको पहिरो र बाढीका कारण ३ जनाको मृत्यु भएको छ ।

धौलागिरि गाउँपालिका ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकाको डाँडाखानीमा १ जना गरी ३ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएका छ । म्याग्दीका प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरका अनुसार पहिरोले ३५ घर पुर्दा ३१ जना बेपत्ता भएका छन् ।

पहिरोले धौलागिरि गाउँपालिका –६ का २३ जना र मालिका गाउँपालिका–७ बिमका ८ जना वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । उनकाअनुसार प्रभावित क्षेत्रमा सुरक्षाकर्मीहरुको उद्धार टोली पुगेको छ ।

बाढी र पहिरोले पुल, सडक भत्काउदा घटनास्थल पुग्न अपठ्यारो भएपछि उद्धार टोली पुर्‍याउन गृह मन्त्रालयबाट हेलिकप्टर माग गरिएको प्रजिअ ढकालले बताए ।

बेनी नगरपालिकाको म्याग्दी खोला र रघुगंगा खोलाका कारण जोखिममा रहेका २८ घरलाई सुरक्षित स्थानमा सार्न लागिएको छ । त्यहाँका ११० जनालाई उद्धार गरी गलेश्वरको धर्मशाला र आमा समूहमा राख्ने प्रबन्ध मिलाइएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार