
काठमाडौं । कोरोना माहामारीको अनुगमन गरी सरकारलाई सुझाब दिन संसदीय समिति गठन गर्न माग गरिएको छ । काठमाडौं उपत्यकाका २० जना सांसदले सभामुख अग्निप्रसाद सापकोटालाई भेटर यस्तो माग गरेका हुन् ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थपिएको निषेधाज्ञा र बन्दाबन्दीले गर्दा धेरै नागरिकहरु समस्या परेकाले संसदीय समिति आवश्यक रहेको उनीहरुको भनाई रहेको छ । सांसदहरुले कोभिड १९ को कारणले दैनिक ज्यालादारी मजदुर, उद्योग धन्दा, शैक्षिक संस्था तथा सर्वसाधारणमा परेको असरको अनुगमन गर्ने गरी संसदीय समिति गठन गर्न उपयुक्त हुने बताएका छन् ।
उक्त समिमितले कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको समस्या र तिनको व्यवस्थापनमा देखिएका बेथितीको अनुगमन गरी सरकारलाई राय सुझाव दिने सांसदहरुको भनाइ छ ।
यसअघि सांसदहरुले यहि बेहोराको पत्र उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरलेलाई पनि बुझाएका थिए ।काठमाडौंबाट प्रत्यक्ष र समानुपतिक गरी २० जना सांसद प्रतिनिधि सभामा छन् ।









