सरकारका प्रमुख सचिव विश्वकर्मालाई प्रसिद्ध विकास लेखनद्धारा सम्मान


काठमाडौं । वाग्मती प्रदेश सरकारका प्रमुख सचिव डा. मानबहादुर विश्वकर्मालाई २०७७ सालको ‘प्रसिद्ध सहभागीमूलक विकास लेखन सम्मान’ प्रदान गरिने भएको छ ।

नेपालमा समावेशी विकास प्रक्रियाको वकालत गर्दै दलित उत्थान तथा सहभागिताका सवालमा लामो समयदेखि कलम चलाउँदै आएका लेखक डा. विश्वकर्मा उक्त सम्मान प्रदान गर्न लागिएको हो ।

नेपाल सहभागीमूलक कार्य समूह (नेपान) का निवर्तमान अध्यक्ष चेतनाथ कणेलले आफ्ना दिवंगत सुपुत्र प्रसिद्ध कणेलको स्मृतिमा २०७४ सालमा लाख रुपैयाँको अक्षयकोष राखी २०७५ देखि हरेक वर्ष एकजना सहभागीमूलक विकास पद्धतिमा कलम चलाई पुस्तक प्रकाशन गरेका व्यक्तिलाई सम्मान गर्ने उदेश्य स्वरुप डा विश्वकर्मालाई सम्मान गरिन लागेको नेपानले जनाएको छ ।

लेखक डा. विश्वकर्मालाई सम्मान पत्रसहित नगद १० हजार रुपैयाँ प्रदान गरी सम्मान गरिने लागेको नेपानका अध्यक्ष भण्डारीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उक्त सम्मान प्राप्त गर्ने उनी तेस्रो व्यक्ति हुन् । यसअघि २०७५ सालमा सह-प्राध्यापक गम्भीरबहादुर हाडा र २०७६ सालमा द्वन्द्वविद् डा. विष्णुराज उप्रेतीलाई सम्मान गरिएको नेपानका अध्यक्ष भण्डारीले बताए ।

डा. विश्वकर्माका करिब एक दर्जन कृति समावेशी विकास सवालमा केन्द्रित छन् भने थप एक दर्जनजति कृति व्यवस्थापनसम्बद्ध कलेजका विद्यार्थीलाई लक्षित गरी लेखिएका छन् ।

उनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नल तथा पत्रपत्रिकाहरूमा समेत थुप्रै लेख प्रकाशित छन् । डा. विश्वकर्मा दलित समुदायबाट नेपाल सरकारको पहिलो सचिव समेत हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार