कंचनपुरको बेलौरीमा अक्सिजन प्लान्ट स्थापना गरिदै, एक महिनाभित्रै उत्पादन सुरु हुने

कंचनपुर । कोरोना महामारीलाई मध्यनजर गर्दै कंचनपुरको बैलौरीमा अक्सिजन प्लान्ट स्थापना गरिने भएको छ । कंचनपुरको क्षेत्र न. १ का चार वटै स्थानिय तहहरु मिलेर अक्सिजन प्लान्ट स्थापना गर्न लागेका हुन ।

सोमबार बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका, बेल्डाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाका प्रमुहहरुको बैठकले कंचनपुरको बेलौरी नगरपालिका वडा-५ बन्तरियामा प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमितहरुलाई उपचारका लागि अक्सिजनको अभाव नहोस भन्ने उदेश्यले एक महिना भित्रै प्लान्ट स्थापना गरि अक्सिजन उत्पादन गरिने लालझाडी गा.पाका अध्यक्ष मदनसिंह बडायकले अनमोलपोष्टलाई जानकारी दिए ।

कुल २ करोड अनुमानित लागतमा निर्माण गरिने प्लान्टका लागि चारै स्थानिय तहले तत्काल बजेट विनियोजन गर्ने निर्णय गरेका छन् ।
अध्यक्ष बडायकले दिएको जानकारीअनुसार दुई वटा नगरपालिकाले ६५ / ६५ लाख र दुई वटा गाउँपालिकाले ३५ / ३५ लाख बजेट विनियोजन गर्नेछन् । स्थापना हुने प्लान्टले दैनिक ७० देखि ७५ वटा सिलिण्डर अक्सिजन भर्नेछ ।

स्वास्थ्य केन्द्रको स्तर उन्नती गरिने

चार वटै स्थानिय तहका प्रमुखहरुको बैठकले बैलौरीमा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रको स्तर उन्नती गर्ने बिषयमा छलफल समेत गरेको छन् । स्वास्थ्य केन्द्रका सेवा सुविधा बढाउने, स्थानिय जनतालाई अझै गुणस्तरिय स्वास्थ्य सेवा दिन अस्पतालको सबै तहको क्षमता बढाउने लगायतका बिषयमा छलफल भएको अध्यक्ष बडायकले बताए ।

अस्पतालको स्तर उन्नतीका लागि चाहिने आवश्यक सहयोगका लागि संघिय र प्रदेश सरकारलाई आग्रह गर्ने समेत बैठकमा निर्णय भएको उनले जानकारी दिए ।

कंचनपुरको दक्षिण क्षेत्रमा सुविधा सम्पन्न र गुणस्तरिय सरकारी अस्पताल नहुँदा निम्न बर्गिय जनता स्वस्थ्य सेवाबाट बञ्चित हुँदै आएका छन् ।

ठुलो जनसंख्या रहेको यस क्षेत्रका जनताले गुणस्तरिय स्वास्थ्य सेवा लिन सदरमुकाम महेन्द्रनगर र कैलालीको धनगढी जानुपर्ने बाध्यता रहेको छ । कोरोना महामारीमा सरकारी स्वास्थ्य केन्दहरुमा संक्रमितको चेकजाँच, बिरामी राख्ने क्षमता र उपचारको उचित ब्यवस्था हुन नसक्दा जनता अपठ्यारो झेल्दै आएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार