नवराज हत्याकाण्डको सम्झनामा जेठ १० गते “प्रेमविरोधी जात व्यवस्थाको प्रतिरोध दिवस” मनाइने

काठमाडौं । नवराज हत्याकाण्डको सम्झानामा जेठ १० गते “प्रेमविरोधी जात व्यवस्थाको प्रतिरोध दिवस” मनाइने भएको छ ।

मंगलबार बृहत नागरिक आन्दोलनले एक विज्ञप्ति जारि गर्दै जेठ १० गतेलाई प्रेमविरोधी जात व्यवस्थाको प्रतिरोध दिवसको रुपमा सम्झना गर्ने भएको हो।

कोरोना महामारीलाई ध्यानमा राखी उक्त दिन कार्यक्रम भर्चुअल माध्यमबाट गरिने बताइएको छ ।

उक्त दिवसको अवसरमा विभिन्न व्यक्तित्वका कविता, कला तथा भिडियो अभिव्यक्ति प्रवाह गरिने वृहत नागरिक आन्दोलनले जनाएको छ ।

रुकुम हत्याकाण्ड मानव समाजको इतिहासकै कलँकित घटना भएकाले यसको सम्झनामा जेठ १० गते बृहत रुपमै खुला कार्यक्रम गर्ने योजना भएपनि कोभिड र निषेधाज्ञाका कारण भर्चुअल माध्यमबाट गर्न लागिएको लेखक तथा नागरिक आन्दोलनका अभियन्ता जेबी विश्वकर्माले बताए ।

“बृहत नागरिक आन्दोलनले नवराज लगायत दलितमाथि भइरहेको निरन्तर अत्याचार, हत्या र दमनविरुद्ध काठमाडौंमा बृहत दलित मार्च आयोजना गर्ने योजना बनाएको थियो तर, कोरोनाका कारण भौतिकरुपमा त्यस्तो आन्दोलन गर्न सम्भव छैन्”, अभियन्ता विश्वकर्माले भने ।
डिजिटल माध्यमबाट पनि रुकुम हत्याकाण्डको सम्झनामा गरिने कार्यक्रमले जात व्यवस्थामा आधारित राज्यसत्तालाई एकखालको दबाब पुग्ने नागरिक आन्दोलनको विश्वास छ ।

गत वर्ष जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–६ सोती गाँउमा रहेकी मल्ल थरकी आफ्नी प्रेमिकासँग विवाह गर्न गएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका ५ जना साथीहरुको सामूहिक हत्या भएको थियो ।

घटनामा संलग्न चौरजहारी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । घटना भएको एकबर्ष पुग्दा समेत मुद्धाको फैसला हुन नसक्दा पीडित पक्षले न्याय पाउन सकेका छैनन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार