
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।
बिहीबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेकपा एकीकृत समाजवादी पार्टीका बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका पाण्डेले अल्पमत परेर पनि मुख्यमन्त्री शाक्यलाई कुर्सीमै टाँसिन मन लागेको बताए ।
मुख्यमन्त्री शाक्य अल्पमतमा परेको ३९ दिन भइसकेको र एक महिनामा विश्वासको मत लिनु पर्ने ब्यवस्था भएपनि नलिएर बस्दा अचम्म लागेको बताए ।
‘उहाँ अल्पमतमा परेको ३९ दिन भइसकेको ब्यक्तिले र ३० दिनभित्र विश्वास मत लिनुपर्ने ब्यक्तिले आजसम्म किन टाँसिएर बस्नुभएको छ, अचम्म लागेको छ’, पाण्डेले भने ।
आफुहरु अग्रगमनको पक्षधर, संविधान र व्यवस्थाको रक्षा गर्ने उदेश्यले गठबन्धन बनाएर अघि बढेकाले प्रतिगमन र संविधानको खिलाप जाने र संसदलाई दुई दुई पटक विघटन गर्नेको पक्षधर शाक्यलाई विश्वासको मत दिन नसकिने प्रष्ट पारे ।
मुख्यमन्त्री शाक्य र आफु एउटै पार्टीमा रहेर लामो समय कम्युनिष्ट आन्दोलन र ब्यवस्था परिर्बतनका लडेपनि आज शाक्य विरुद्ध उभिनु पर्ने परिस्थिती आएको पाण्डेको भनाई थियो ।
‘देशलाई कायाकलट गर्ने ताकतलाई समाप्त पार्ने काम कसले गर्यो, कसले दुई दुई पटक संसद विघटन गर्यो ? एउटा कम्युनिष्ट पार्टीको अध्यक्ष, नेता, देशको प्रधानमन्त्री भएको बेलामा भयो । वास्तममा विध्वंस पार्ने काम भयो । त्यसै कारणले देशको स्थिती आज यस्तो भयो र प्रदेश सभामा आज अष्टलक्ष्मी शाक्यको विरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आयो’, पाण्डेले भने ।
नेता पाण्डेले मुख्यमन्त्री शाक्यलाई पदबाट राजीनामा गर्न समेत आग्रह गरे ।










