
काठमाडौं । पूर्व शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र कालापानीको नक्सासहितको पुस्तक रोकेको बताएका छन्।
आज प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता पोखरेलले ओलीले राष्ट्रियताबारे लामो ब्याख्या दिए पनि विगतमा आफैं प्रधानमन्त्री हुँदा लिपुलेक र कालापानीसम्बन्धी पुस्तक सार्वजनिक गर्न रोक लगाएको खुलासा गरेका छन्।
‘यो सदनमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले ओलीले राष्ट्रियता र प्रजातन्त्रबारे लामो ब्याख्या गर्नुभयो, मैले सुनिरहेँ, म शिक्षामन्त्री हुँदा तयार गरेको लिपुलेक र कालापानीसम्बन्धी पुस्तक उहाँले रोक लगाउनुभयो । एउटा कार्यदल बनाउनुभयो । एक पटक पनि बैठक राख्नुभएन । किताब किन रोक्नुभयो जवाफ पनि दिनुभएन । प्रजातन्त्र र राष्ट्रियताको कठघरामा तपाईं पनि हुनुहुन्छ’, नेता पोखरेलले भने ।
ओली प्रधानमन्त्री हुँदा पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए ।









