
काठमाडौं । हिन्दू धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाउँदैछन् ।
धार्मिक ग्रन्थअनुसार ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ का रुपमा हिन्दू धर्मालम्वीहरुले मनाउँदै आएको छन्। पर्वको अवसरमा ललितपुरमा रहेको कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनहरुको घुंइचो लागेको छ भने देशभरका कृष्ण मन्दिरहरुमा पनि बिहानैदेखि भक्तजनहरुले श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन गरिरहेका छन् ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा ‘व्रत’ बसेर रातभर जाग्राम बस्ने प्रचलन पनि छ । पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ लाई पवित्र ग्रन्थ मानिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवीय प्रवृत्तिको सम्हार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।











