
तनहुँ। बलात्कारको आरोपमा थुनामा रहेका अभिनेता पल शाहबारे आज जिल्ला अदालत तनहुँमा सुनुवाइ हुने भएको छ।
भदौ १५ गतेका लागि तोकेको सुनुवाइ सारेर आज (असोज २ गते) का लागि पेशी तोकिएको थियो ।
आज हुने सुनुवाईमा अभिनेता शाहलाई विना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्ने उनका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमला मोहन वाग्लेले जानकारी दिए।
अभिनेता शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा रहेको बलात्कार मुद्धामा भदौ २१ गते सुनुवाई हुँदै उनलाई बलात्कारको मुद्दामा सफाइ दिइएको थियो भने यौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद सजाएँ, दश लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकेको थियो । जसविरुद्ध अभिनेता शाह उच्च अदालत जाने तयारीमा छन् ।
गत फागुन ११ मा अभिनेता शाहविरुद्ध एक नाबालिका गायिकाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दर्ता गराएकी थिइन् । त्यसपछि फागुन १५ गते अभिनेता शाह प्रहरी हिरासतमा गएका थिए ।












