
काठमाडौ । नेपालमा डेंगु संक्रमणका कारण २० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार श्रावण महिनायता २० जनाको ज्यान भएको हो । देशका ७७ जिल्लामध्ये अहिले ७५ जिल्लामा डेंगु फैलिसकेको छ ।
७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। संक्रमणमध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशमा १२ हजार ४०१ जना डेंगु संक्रमित रहेको मन्त्रालयको तथ्याङकमा उल्लेख छ। यस्तै, १ नम्बर प्रदेशमा ५०४, लुम्बिनी प्रदेशमा २ हजार ४२२, गण्डकी प्रदेशमा ३२२, मधेश प्रदेशमा २४२, कर्णाली प्रदेशमा २०३ र सुदुरपश्चिम प्रदेशमा ४९३ जना डेंगु संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।
डेंगु पोथी लामखुट्टेको टोकाईबाट हुने गर्दछ । चिकित्सकहरुका अनुसार यसको कुनै निर्मुल औषधी नभएपनि डेंगु लाग्नबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो ।
डेंगु संक्रमण भएमा टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने, शरिर कमजोर हुने आदी लक्षणहरु देखा पर्दछन् ।








