
कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले रेशम चौधरीको रिहाईका लागि आफुले पहल गर्ने आश्वासन दिएका छन् ।
हिजो मुख्यमन्त्रीको शपथ लिएका शाहले आज चौधरीको कैलालीको जानकी गाउँपालिका ६ जगतपुरस्थित घरमा पुगेर रिहाईका लागि पहल गर्ने आश्वासन दिएका हुन् ।
चौधरीको घरमा उनकी पत्नी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् संघीय सांसद रञ्जिता श्रेष्ठ चौधरीसंग भेटवार्ता गर्दै मुख्यमन्त्री शाहले टिकापुर घटना राजनीतिक भएकाले त्यसको सामाधान पनि राजनीतिबाटै हुने र त्यसका लागि आफुले पहल गर्ने बताएका छन् ।
अध्यक्ष श्रेष्ठसंगको भेटवार्तामा मुख्यमन्त्री शमाहले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह समेत गरेका थिए । मुख्यमन्त्री शाहले अबको ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनु पर्ने छ।
प्रदेशमा बहुमत जुटाउन २७ सांसदको समर्थन चाहिन्छ । यसअघि नेकपा एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकारलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिएपछि सरकार ढलेको थियो । त्यसपछि शाहले सबैभन्दा ठुलो दलको हैसियतले मुख्यमन्त्री बनेका थिए । उनले आगामी ३० दिनभित्र आफ्नो नेतृत्वको सरकारलाई प्रदेश सभामा काँग्रेस लगायत नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी,नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र सांसदको समर्थन पाउने अप्क्षा गरेका छन्।
सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका उपसभामुखबाहेक ९, नागरिक उन्मुक्तीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद छन् ।















