
काठमाडौं । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल होटेलमा मृत भेटिएका छन् । पौडेल बडिगाड गाउँपालिका ६ मा रहेको आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा मृत अवस्थमा भेटिएका हुन् ।
‘पौडेलले होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको सोही होटेलका साहुजीको छोराले देखेर काटेको प्रहरीले जनाएको छ । उनीहरुले पौडेल मृत भेटिएपछि वडाध्यक्षलाई खबर गरेको बताएका छन् । प्रहरीले अनुसन्धानका लागि होटेल साहुनी र छोरालाई चौकीमा लगेको छ ।
घटनास्थलमा रहेका बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनका अनुसार घटना सोमबार राति साढे १२ बजेतिरको हो । घटना भएपछि होटेल सञ्चालकले १ बजेतिर वडाअध्यक्षलाई फोन गरेर जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल प्रस्थान गरेको र वर्षाका कारण सडक अवरुद्ध हुँदा केही समस्या भएको बताइएको छ । घटनास्थल जिल्ला सदरमुकामबाट इप्रका रहेको बडिगाड ७ सम्मको दूरी ७० किलोमिटर रहेको छ भने त्यहाँबाट घटनास्थल ४ किलोमिटरको दूरीमा रहेको छ ।













