काठमाडौंमा द्रुत बस सेवा सुरु, भौतिक पूर्वाधार मन्त्री ज्वालाद्धारा उद्घाटन


काठमाडौं । भक्तपुरको सूर्यविनायक बाट रत्नपार्क रुटमा चल्ने द्रुत बस सेवाको उद्घाटन गरिएको छ । संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उदघाटन गरेका हुन् ।

काठमाडौं उपत्यकामा पहिलोपटक सुरु भएको द्रुत बस सेवा सूर्यविनायक, रत्नपार्क रुटमा चल्ने छ । उदघाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन शाह तथा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरहरु र अन्य नेताहरु चढेर यात्रा गरेका छन् ।

यात्रुहरुका लागि भने असोज चार गते बिहीबारदेखि मात्रै द्रुत बस सेवा सन्चालन हुनेछ । अरु सार्वजनिक बसलाई रत्नपार्क, सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने छ । माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिन नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन् ।

भाडा भने अन्य बस्ले लिने जतिनै लाग्ने छ भने द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५ ५ मिनेटको फरकमा छुट्नेछन् । रहेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् । द्रुत सेवाका बसहरु रातो रंगले पोतिएको लेनमामात्र चल्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार