“ढुक्क भएर लगानी गर्नोस्, मुनाफाको प्रत्याभूति हुनेछ”-प्रधानमन्त्री

नेपाल लगानी सम्मेलन !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गरेका छन् । काठमाडौंमा शुक्रबारदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताए।

संवोधनमा प्रधानमन्त्री ओलीले भने, “गाढा मैत्री तथा पारस्परिक लाभका लागि साझेदारीको विकास आवश्यक छ, यो साझेदारीबाट नेपालमा पर्याप्त लगानी प्राप्त हुने र त्यसको आकर्षक प्रतिफल लगानीकर्तालाई प्राप्त हुनेछ । ”
नेपालमा लगानी गर्नका लागि ७५ भन्दा बढी सम्भावित परियोजना चयन गरिएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले नेपालमा उपलब्ध अवसर भरपुर उपयोग हुनेमा आफू विश्वस्त रहेको समेत बताए ।

लगानीका लागि परचुर सम्भावना र अवसर रहेको नेपालमा अहिले स्थिर सरकार रहेकाले लगानी सुरक्षासहित लगानीकर्तालाई मुनाफाको सुनिश्चितताबाट फाइदा उठाउन समेत उनले आग्रह गरे ।

प्रधानमन्त्री ओलीले संवोधनमा भने, नेपाल लगानीका लागि उपयुक्त थलो हो, जुनसुकै क्षेत्रमा लगानी गरेपनि मुनाफा प्राप्त हुन्छ, जलविद्युत् क्षेत्र लगानीकर्ताका लागि एक प्रमुख केन्द्र बन्नसक्छ ।

नेपालको कृषि, उत्पादन क्षेत्र, पर्यटन, भौतिक पूर्वाधार,सूचना प्रविधि, खनिज र खानी क्षेत्रमा पनि प्रशस्त लाभ लिन सक्ने ठाँउ रहेको भन्दै उनले लगानीका रुपमा यि क्षेत्रहरु अर्को आर्कषणका रुपमा रहेको समेत बताए ।

तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले द्रुत औद्योगिकीकरणसँगै विद्युत्को आन्तरिक खपतमा वृद्धि भइरहेको तथा भारतको सकारात्मक प्रयासका कारण क्षेत्रीय बजारमा बिजुली बिक्रीको सम्भावना बढेको बताए ।

संसद्मा रहेका नेपालका सबै राजनीतिक शक्ति बाह्य लगानी प्रोत्साहन एवम् आमन्त्रण गर्न तथा विकासका विषयमा एकमत भएर राष्ट्रिय सहमतिमा रहेको सम्मेलनमा जानकारी दिँदै प्रधानमन्त्री ओलीले विकासको स्पष्ट दृष्टिकोण बोकेको वर्तमान सरकारसँग निजी क्षेत्रको साथ र सहयोग रहेको बताए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको अभियानमा नेपाललाई साथ दिन आग्रह गर्दै उहाँले साथीको साथ, सहयोग, समर्थन र ऐक्यबद्धताको ठुलो महत्व हुने बताए ।
सम्मेलनमा लगानीकर्तालाई विश्वस्त पार्दै प्रधानमन्त्री ओलीले भने, “नेपाल व्यापार–व्यवसाय र लगानीका निम्ति तयार छ, हामी तपाईहरूको लगानीको स्वागत गर्छौँ, ढुक्क भएर लगानी गर्नोस्, मुनाफाको प्रत्याभूति हुनेछ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार