मोरङ । सार्वजनिक सभामा नाङ्गो खुकुरी देखाएर हिंसा गर्न उस्काउने हिन्दू धर्म गुरु आचार्य श्रीनिवासविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ । समाजमा घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा उनिविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषाले मुद्धा दर्ता गरेको हो ।
धर्म गुरु श्रीनिवासविरुद्ध हिजो मुद्दा दर्ता गरेर जिल्ला अदालत धनुषाबाट आज तीन दिनको म्याद थप गराएर अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।
आचार्य श्रीनिवासलाई सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीस्थित आश्रमबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो ।
असोज १२ गते जनकपुरधाममा भएको विरोध कार्यक्रममा उनले नाङ्यो खुकुरी देखाउदै साम्प्रदायिक घृणा फैलाउने गरी हिंसात्मक अभिव्यक्ति दिएका थिए । समाजमा धार्मिक र जातीय हिंसा भड्काउने गरि दिएको उनको अभिव्यक्तिलाई लिएर सर्वत्र विरोध भइरहेको छ ।
धर्म गुरु श्रीनिवास यसअघि २०७५ वैशाख २४ गते पनि पक्राउ परेका थिए । उनले विराटनगरस्थित एक मन्दिरका सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई आफैंमाथि गोली प्रहार गर्न लगाएर धार्मिक र साम्प्रदायिक हिंसा भड्काउन खोजेका थिए।