काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायल आक्रमणमा नेपालीको अवस्थाबारे संसदलाई जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले इजरायलमा रहेका नेपाली नागरिकको संख्या र आक्रमण भएको क्षेत्रमा रहेका नेपाली विधार्थीको अवस्थाबारे संसदलाई जानकारी दिएका हुन् ।
मन्त्री साउदले आक्रमणबाट केही नेपाली हताहत भएको हुनसक्ने पनि बताएका छन् । उनले नेपाल इजरायल सरकारबीच भएको सम्झौताअनुसार कृषी क्षेत्रको अध्यन गर्न इजरायल विद्यार्थीमध्ये केही हताहत भएको आशंका रहेको संसद्लाई जानकारी दिएका छन् ।
इजरायल आक्रमणमा नेपालीको अवस्थाबारे जानकारी लिन र त्यहाँ रहेका नेपालको उद्दारलगायतका विषयमा निर्णय लिनका लागि प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा आज बिहान बैठक बसी संयन्त्र स्थापना गरिएको समेत मन्त्री साउदले संसदलाई जानकारी दिएका छन् ।
मन्त्री साउदले संसदमा भने, ‘इजरायलमा हाल ४ हजार ५०० नेपाली केयर गिभरको रूपमा कार्यरत रहेका छन् । इजरायमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्नु’ कार्यक्रमअन्तर्गत गएका थिए । यसमध्ये कृषि विश्वविद्यालयबाट ११९, त्रिविबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए, सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ विद्यार्थीमध्ये १७ जना नेपाली दक्षिणी इजरायको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत रहेका थिए । नेपाली राजदूतावासबाट प्राप्त पछिल्लो जानकारीअनुसार यो स्थान गाजा क्षेत्र नजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएकाले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीहरूमध्ये २ जना सकुशल रहेको, ३ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।’