काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी दर्ता गराएकी छन् । एनआरएनएको असोज ३० गतेबाट काठमाडौंमा हुने ११औं महाधिवेशनका लागि थापाले सोमबार अध्यक्ष पदमा उमेम्दवारी दर्ता गराएकी हुन् ।
उनलाई अध्यक्षका अर्का दावेदार वर्तमान कार्यसमितिका उपमहासचिव विनय अधिकारी (युके) ले समर्थन गरि प्रस्तावक नै बसेर सहयोग गरेका छन् । त्यस्तै थापालाई अर्का प्रस्तावक विष्णु वानिया (जापान) तथा समर्थक गगन गुरुङ र सुरेश कोइराला (युएस) ले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
थापाले आफुले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी छन् । साथै उनले आफुले यसअघि एनआरएनएको कार्यकारी अध्यक्ष रहँदा छोटो अवधिमै महत्वपूर्ण काम गरेको सबैलाई अवगत गराउदैं, यो पटक आफुले सबैको सहयोग पाउने आशा समेत व्यक्त गरेकी छन् । उनले १ कार्यकाल पूर्ण अवधि काम गरेर एनआरएनएलाई नयाँ उचाईं दिने प्रतिबद्धता समेत गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आफ्नो अमूल्य मत दिई मलाई अत्यधिक मतले विजयी बनाउन हुन हार्दिक अनुरोध गर्दछु ।’
एनआरएनएको अध्यक्ष पदको लागि वर्तमान अध्यक्ष डा. बद्री केसी, वर्तमान उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मा र महेशकुमार श्रेष्ठले समेत उम्मेदवारी दर्ता गराएका छन् ।