कक्षा १२ को परीक्षामा वडाध्यक्ष पनि पास,भन्छन: पढाइलाई उमेरले छेक्दैन


मकवानपुर । यसबर्षको कक्षा १२ को परीक्षामा एकजना वडाध्यक्ष पनि उत्तीर्ण भएका छन् । आज सार्वजनिक भएको कक्षा १२ को नतिजामा मकवानपुरको मनहरी गाउँपालिका वडा नं १ का वडाध्यक्ष शिवप्रसाद खनाल उत्तीर्ण भएका हुन ।

५२ वर्षीय वडाध्यक्ष खनालले २.४१ जीपीए प्राप्त गरेर कक्षा १२ पास गरेका छन् । कक्षा ११ उनले २.५३ जीपीए ल्याएर उत्तीर्ण गरेका थिए ।

खनालले निर्मल बहुमुखी क्याम्पस बस्तिपुरबाट १२ को परीक्षा दिएका थिए ।
उनि आफ्नै वडाको बाल जीवनज्योति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । अध्यक्ष खनालले आफु निर्वाचित भएपछि सो विद्यालयमा कक्षा ११ र १२ कक्षा सञ्चालन गर्न पहल गरेका थिए ।

उनले २०५६ सालमा एसएलसी परीक्षा गरेपनि विविध कारणवश पढाइलाई बीचमै छाडेको बताएका छन् ।

पढाइलाई उमेरले छेक्दैन भन्ने उदाहरणलाई स्थापित गर्दै वडाध्यक्ष खनालले आफ्नो पढाइलाई निरन्तरता दिएको बताएका छन् । उनले अहिलेको समयमा शिक्षाको महत्व झनै बढेकाले सबैले शिक्षामा जोड दिनुपर्ने पनि बताएका छन् ।

आज सार्वजनिक भएको कक्षा १२ को नतिजामा तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी थिए । जसमा सात हजार ६३ जना  परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ४० हजार २३९ रहेको  राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार