मोरङ। संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् ।
मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय उनलाई जिल्ला प्रहरी कार्यालय नजिकैबाट पक्राउ गरिएको हो ।
पोखरेल नेकपा एमाले मोरङका जिल्ला सदस्य समेत हुन् ।
पोखरेललाई एमबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए।
ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले आफ्ना स्वकीय सचिव पा्खरेललाई निकालेका थिए ।
सभापति पोखरेलकी श्रीमती अन्जला कोइराला भने सहकारी ठगीको आरोपमा हिजो मात्रै १० लाख धरौटी तिरेर छुटेकी थिइन् । उनि छुटेकै अर्को दिन आज सभापति पोखरेलका स्वकीय सचिव पोखरेल पक्राउ परेका छन् । सहकारी ठगीमा नाम मुछिएपछि सभापति पोखरेलले आफ्नो श्रीमतीको बचाउ गर्दै आएका थिए ।