तिर्दैनौं भन्ने राप्रपा बालेन सामु झुक्यो, तिर्यो एक लाख जरिवाना


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अन्तत काठमाडौं महानगरपालिकालाई एक लाख जरिवाना बुझाएको छ । आज राप्रपाका प्रवक्ता एवम् सांसद ज्ञानेन्द्र शाहीसहितको टोलीले महानगरमा पुगेर एक लाख जरिवाना बुझाएको हो ।

हिजो राप्रपा लगायत राजावादी समुहहरुले गरेको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने र्यालीमा काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो ।

पूर्वराजा शाहलाई स्वागत गर्न गएका राप्रपा नेता, कार्यकर्ता र राजावादीहरुले एयरपोर्टको मुख्य गेट अगाडी सडक छेउछाउका रोपिएका फूलका बिरुवाहरु कुल्चनुका साथै फुलहरु टिपेका थिए । सडक छेउका केहि रेलिङहरुमा समेत क्षती पुगेको महानगरले जनाएको छ । ठुलो संख्यामा उपस्थित राजावादीहरुले सडकमा पानीका बोतलदेखि अन्य फोहरजन्य कुराहरु फाल्दा फोहोर भएको महानगरको भनाई छ । राप्रपालाई महानगरले यसअघि पनि सडकमा फोहरमा गरेको भन्दे जरिवाना तिराएको थियो ।

महानगरले तोकेको जरिवाना नतिर्ने भनेको राप्रपा अन्तत जरिवाना तिर्न वाध्य भएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली सहभागी दरवारमार्गमा एमालेले आयोजना गरेको सभाले पनि सडकमा फोहर गरेको भन्दै महानगरका मेयर बालेन शाहले एमालेलाई एक लाख जरिवाना तिराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार