
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीका नाममा चैत्र १५ गते तीनकुनेमा भएको हिंस्रक आन्दोलनले लोकतन्त्र समाप्त पार्ने षडयन्त्र गरेको बताएका छन् ।
लोकतन्त्र समाप्त पार्ने राजावादीहरूको पहिलो निशानामा सञ्चारमाध्यम परेको समेत उनले बताए छन् । आज बसेको संसदको राज्य व्यवस्था समितिको बैठकमा जवाफ दिँदै गृहमन्त्री लेखकले लोकतन्त्र मास्न खोज्नेहरुका कुने पनि षडयन्त्र सफल नहुने बताए ।
गृहमन्त्री लेखकले सरकार सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षाका निम्ति संवेदनशील रहेको समेत बताए । मुलुकमा जबजब लोकतन्त्र समाप्त पार्ने षडयन्त्र हुन्छ त्यतिबेला सञ्चारकर्मी र सञ्चारगृहमाथि आक्रमणका घटना हुने गरेको उनको भनाइ थियो ।
राजावादी आन्दोलनका नाममा पत्रकार हत्यादेखि ब्यक्तिका निजि घर, पसलमा ताकी ताकी आक्रमण, तोडफोड आगजनीसम्मका घटनाहरु कदापी क्षम्य नहुने गृहमन्त्री लेखकले बताए ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र संविधानको रक्षा यो सरकारको पहिलो दायित्व रहेको समत स्पष्ट पारे ।
गृहमन्त्री लेखकले संविधान र कानुनले सबैलाई शान्तिपुर्ण ढंगले आन्दोलन, प्रर्दशन गर्न पाउने, विरोध गर्न पाउने अधिकार दिएको तर आनदोलनका नाममा हिंसात्मक गतिविधि गर्ने, संविधानविरुद्धका गतिविधि गर्ने , व्यवस्थालाई नै उल्ट्याउनेसम्मका अराजक गतिविधिलाई सरकारले सधैं नियन्त्रण र निष्तेज गर्ने समेत स्पष्ट पारेका छन् ।











