
काठमाडौं । बलिउडमा स्थापित नायिका मनीषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको अन्यायविरुद्ध आवाज उठाएको बताएकी छन् ।
लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर अभियानमा साथ दिन पार्टी केन्द्रीय कार्यालय पुगेकी नायिका कोइरालाले रविमाथिको अन्यायविरुद्ध आवाज उठाएको बताएकी हुन् । उनले रविमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर गरेर ऐक्यबद्धता जनाएकी छिन्।
हस्ताक्षरपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै नायिका भनिन, ‘म कुनै पनि पार्टीमा आबद्ध छैन । एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुर्व्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ।’
क्यान्सर रोगबाट निको भएपश्चात नेपालमै बसिरहेकी नायिका कोइरालाले पछिल्लो समय राजावादी आन्दोलनलाई सर्मथन गर्दै आएकी थिइन् । उनले नेपालमा राजसंस्था चाहिने समेत भन्दै आएकी थिइन् । रविको पक्षमा हस्ताक्षरपछि उनले आफू हालसम्म कुनै पनि पार्टीमा आबद्ध नभएको र आमनागरिकका रूपमा रविको हस्ताक्षर अभियानमा साथ दिएको बताइन् ।
रास्वपाको हस्ताक्षर अभियानमा यसअघि नेपाली कलाकारहरुले पनि हस्ताक्षर गरिरहेका छन् । अभियान सुरु भएपछि नेपाली कलाकारमा विपिन कार्कीले पहिलो पटक पार्टी कार्यालय पुगेर हस्ताक्षर गरेका थिए । त्यसपछि कलाकारहरु रमेश उप्रेती, खगेन्द्र लामिछाने, किरण केसी, गायक खेम सेन्चुरीलगायतले रविको पक्षमा हस्ताक्षर गरेका छन्।
सहकारी प्रकरणमा पार्टी सभापति लामिछाने संलग्न नरहेको भन्दै रास्वपाले सरकारले प्रतिशोध साँधिरहेको बताउँदै आएको छ । तर, सहकारी प्रकरणमा लामिछानेलाई अहिले नै निर्दोष भन्न नसकिने भन्दै सर्वोच्च अदालतले नै उनलाई थुनामा पठाएको थियो ।
लामिछानेलाई थुनामुक्त गरिपाउँ भन्दै परेको रिटमाथि सर्वोच्चले सुनुवाई गर्दै उनलाई थुना पठाएको थियो । सर्वोच्च्को आदेशपछि उनि हाल भैरहवा कारागारमा छन् ।
सम्बन्धित भिडियो पनि हेरौं











