
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता अभिविन्द खनिया सिंगापुरमा सोसल मिडिया अर्वाडबाट सम्मानित भएका छन् । सिंगापुरमा हालै सम्पन्न एशियाली राजनीतिक सञ्चार सम्मेलनमा खनियाले “सोसल मिडिया म्यावरिक अवार्ड २०२५” बाट सम्मानित भएका हुन् ।
एशियाली राजनीतिक सम्मेलनमा नेतृत्वदायी भूमिका सिंगापुरमा २१,अक्टोबर २०२५ मा सम्पन्न उक्त सम्मेलनमा खनियाले “एशियाको भविष्य एक विभाजित विश्वमा”, “प्याक्स अमेरिकाना” लगायत विविध विषयका बहसहरूमा सक्रिय रूपमा सहभागिता जनाएका थिए। विशेषगरी राजनीतिमा कृत्रिम बुद्धिमत्ता (एआइ) र डिजिटल मिडियाको प्रयोग सम्बन्धी छलफलहरूमा उनले लोकतन्त्र र नागरिक सहभागितामा आउने संभावित अवसर र चुनौतीबारे प्रभावकारी मन्तव्य राखेका थिए।
एशिया–प्रशान्त क्षेत्रसहित ३५ भन्दा बढी देशका ४ सय भन्दा बढी प्रतिनिधिहरूको सहभागीता रहेको उक्त सोसल मिडिया म्यावरिक अवार्ड प्रदान सम्मेलनमा नेपालको प्रतिनिध्वि गर्दै सम्मानित हुन पाउँदा अत्यन्त खुशी मिल्नुका साथे थप जिम्मेवार बनाएको खनियाले बताए ।
नेता खनियाले हालै नेपालमा भएको जेनजी आन्दोलन, त्यसका शहीद,घाइते र सम्पुर्ण नेपाली युवा पुस्ताको नाममा आफुले पाएको अर्वाड समर्पित गरेको समेत बताए ।
“एशियाली राजनीतिक सञ्चार सम्मेलनजस्तो अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै ‘सोसल मिडिया म्यावरिक अवार्ड २०२५’ प्राप्त गर्नु नेपालकै लागि अत्यन्त गर्वको विषय हो”, उनले बताए ।
नयाँ मिडिया युगमा प्रभावकारी डिजिटल संवाद र युवाको सहभागितालाई प्रोत्साहित गर्ने उद्देश्यले यो अवार्ड दिने गरिन्छ । यस अर्वाडले नेपालका जेनजी पुस्ताको पक्षमा अझै शसक्त आवाज उठाउन र सकारात्मक परिवर्तनका लागि पहल गर्न आफुलाई प्रेरणा मिलेको खनियाको भनाई छ ।
अर्वाडले नयाँ पुस्ताका आवाजहरूलाई डिजिटल माध्यममार्फत जिम्मेवार र रचनात्मक ढंगले प्रस्तुत गरी लोकतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन अझ उत्प्रेरणा प्रदान गरेको खनियाले बताए । नेता खनिया यस्तै अन्य विभिन्न अन्तर्राष्ट्रिय अर्वाडहरुबाट सम्मानित भइसकेका छन् ।
यसअघि उनलाई मलेसियाको Creative Events Malaysia ले उनलाई “Top Outstanding Men of Asia 2025” अवार्डका लागि चयन गर्दै मनोरञ्जन र राजनीतिमा देखाएको अद्वितीय नेतृत्व क्षमताको कदर गरेको थियो। लामो समयसम्म राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनमा महासचिव तथा सह-अध्यक्षको जिम्मेवारी निभाइसकेका खनिया हाल सामाजिक सेवीमा स्नातकोत्तर गर्दैछन्।
खनियाले सन् २०२४ सेप्टेम्बर महिनामा जर्मनीको एरफर्ट र बर्लिनमा आयोजित “दुई सदनीय प्रणाली तथा सत्ताको सन्तुलन” विषयक अन्तर्राष्ट्रिय युवा नेतृत्व सम्मेलनमा उनले नेपाल तथा राप्रपाको प्रतिनिधित्व गरेका थिए ।
मनोरञ्जन र युवा सशक्तीकरणमा खनियाको योगदान पनि उल्लेखनीय छ। सन् २०१७ मा आयोजित “मिष्टर टिन नेपाल” प्रतियोगिताको उपाधि विजेता भएकै हैसियतमा उनले युवावस्था देखि नेतृत्व विकासमा सक्रिय भूमिका खेलेका छन्। खनियाद्वारा स्थापित अभ्यानी प्रोडक्सन नेतृत्व विकास संस्थामार्फत हजारौँ युवालाई नेतृत्व दक्षता र व्यक्तित्व विकास तालिम प्रदान गरेका छन्।
खनिया विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरूद्वारा समेत अलंकृत भइसकेका छन्। भियतनाममा आयोजित अन्तर्राष्ट्रिय सम्मान समारोहबाट “एसियाकै उत्कृष्ट पेजेन्ट कोच तथा व्यवसायी २०२३” को उपाधि, २०२२ मा “आउटस्ट्यान्डिङ यङ्ग इन्टरप्रेनर” (उत्कृष्ट युवा उद्यमी) र २०२१ मा “डायनामिक युथ अवार्ड” लगायत दर्जनौँ सम्मान प्राप्त गरेर उनले आफ्नो बहुआयामिक क्षमता प्रमाणित गरिसकेका छन्।











